लप्सीको अचार
लप्सीको अचारलाई कतैकतै लप्सीको खट्टीमिठी पनि भन्ने गरिन्छ ।
यो अचार बनाउनको लागि पाकेको लप्सी, चिनी वा सखर, मेथी, ल्वांग, सुकुमेल, दालचिनी, तेजपत्ता, मरिच, सुकेको खुर्सानीको धुलो र चिल्ली फलेक्स, बेसार, नुन अनि थोरै खाना पकाउने तेलको आवश्यकता पर्दछ ।
सबैभन्दा पहिला लप्सीलाई राम्रोसंग पखालेर २ कपजती पानी राखेर २ सिठ्ठी लाग्दा सम्म प्रेशर कुकरमा उसिन्ने । त्यसपछि उसिनेको लप्सीको बोक्रा छोडाएर अचार बनाउन चाहनुहुन्छ भने बोक्रा छोडाउनुहोला वा बाक्रासंगै पनि अचार बनाउन सकिन्छ ।
यसपछि एउटा भाँडामा खाना पकाउने तेल तताएर त्यसमा मेथी, ल्वांग, सुकुमेल, मरिच, दालचिनी, तेजपत्ता राखेर फ्राइ गर्ने त्यसपछि धुलो खुर्सानी, बेसार र नुन राखेर फेरी फ्राइ गर्ने त्यसको लगत्तै चिनी वा सख्खर राख्ने कही समय चिनीलाई फ्राइ गरेपछि लप्सी उसिन्न राखेको पानी राखेर केहि समय चिनी वा सख्खर पुरै नघुल्दासम्म पकाउने ।
चिनी वा सख्खर पुरै घुलिसकेपछी त्यसमा उसिनेको लप्सीराखेर केही समयसम्म पकाउने र चिनी वा सख्खरको पाक बाक्लो भएपछी लप्सीको अचार वा खट्टीमिठी तयार हुन्छ । र यसलाई केही समय सेलाउन दिने ।
अचार सेलाएपछी सफा शिसाको भाँडामा राखेर राख्ने र आफ्नो अनुकुल अनुसार खान सक्नुहुनेछ ।