मेरो पहिलो तथा अन्तिम गाइजात्रा

 


आज गाइजात्रा । पोखरामा आफ्नै तरिकाले मनाइन्छ । गाइजात्राको दिन पोखराका नेवार समुदाय बसोवास गर्ने टोलटोलबाट निकालिने यो जात्रा रमाइलो लाग्छ र मपनि यो जात्रामा मात्र एक बर्ष सहभागिता जनाएको छु । यो एकै पटक मनाउन पनि धेरै संघर्ष गर्नु पर्यो ।

पोखरा नेपाली तथा विदेशीले मन पराउने नेपालको भूमी मध्य एक गन्तव्य भूमी । सानो शहर पोखरा अहिले नेपालकै सबैभन्दा ठुलो माहानगर भएको छ । पोखरालाई तालहरुको शहरपनि भनिन्छ । प्रमुखरुप फेवाताल, रुपाताल, बेगनास, खास्ते, दिपंग गरी ८ ताल छ यो शहरमा । नेपालको पर्यटकिय गन्तव्यको रुपमा पनि चिनिन्छ पोखरा । पोखरावाट माच्छापुच्छ्रे, अन्नपुर्ण आदि मनोरम हिमश्रृंखलाका कारण चर्चित छ । पोखरामा विभिन्न चर्चित धार्मिक स्थालहरु पनि छ । यस क्षेत्रमा हिन्दु, मुस्लिम, बौद्ध धर्मावलम्विहरुका मस्जिद, मन्दिर, गुम्वाहरु पनि छ । पर्यटन प्रवद्र्धनको लागि विभिन्न स्थानमा मन्दिर गुम्वाहरुपनि निरन्तर स्थापना भैरहेकोछ । यस क्षेत्रमा आर्यन, नेवार, मंगोल, मधेशी समुदायको पनि बसोवास भएपनि सबैभन्दा बढी मंगोल समुदायका गुरुंग, थकाली र मगर समुदायको उपस्थिती उल्लेखय छ ।

यस क्षेत्रमा विविध सुदायको बसोवासको साथसाथै सवैको कला संस्कृति र परम्परालाई विशेष महत्व दिएको पाइन्छ । यसैक्रममा पोखरा वजार क्षेत्रमा सदियौै देखी बसोवास गर्ने नेवार समुदायको पनि आफ्नै परम्परा र संस्कृति छ र मान्ने गर्दछ यहाँ । यसैक्रममा पोखराका नेवार समुदायले मनाउने एक परम्परा र सँस्कृती मध्य पर्दछ गाइजात्रा ।

गाइजात्रा पर्व मनाउनकालागि नेवार समुदायले गठामुग (घण्टाकर्ण) को दिन देखी तयारी शुरु गर्ने गर्छ र यो गाइजात्रा मनाउने प्रमुख दिन जनैपुर्णिमाको भोलिपल्ट हो तैपनि यो गाइजात्रा कृष्ण जन्माष्टमी सम्म मनाउने गरिन्छ ।

कसरी गरिन्थ्यो त गाइजात्राको तयारी ?

पोखरामा घण्टाकर्ण पर्व मनाइसकेपछी त्यो दिनदेखी जनैपुर्णिमासम्म हरेक साँझ गाइजात्राकोलागि गरिने विभिन्न कार्यक्रम तथा नृत्यकोलागि तयारी स्वरुप वाजा वजाउने नृत्य गर्ने तालिम शुरु हुन्छ । यसका साथै अन्य विभिन्न कार्यक्रम गर्न पनि तालिमको तयारी गरिन्छ । हामीले गाइजात्रा मनाउने वेलामा मेरो टोलमा गाइजात्रा पर्व दिन भन्दा एक दुइ दिन अगाडी गाइजात्राको लागि आबश्यक सामग्री धुने, सुकाउने सफा गर्ने गरिन्थ्यो । यसका साथै थप हरेक वर्षको लागि आवश्यक सामग्री जुटाउनको लागि घरघरमा चन्दा उठाउने गरिन्थ्यो । संकलन भएको रकम आफुभन्दा ठुला अग्रजहरुलाई जिम्मा लगाइन्थ्यो र त्यसमा पुग नपुग व्यवस्था गरेर गाइजात्राको तयारीको लागि आबश्यक ब्यवस्था गर्ने गरिन्थ्यो ।

यसकार्यमा म निरन्तर ५ बर्ष जति चन्दा उठाउने कार्यमा संलग्न भए र ३ वर्ष गाइजात्रामा भाग लिनको लागि गठामुगदेखी शुरुहुने तालिममा सहभागि भए तर गाइजात्रा पर्वमा सहभागिहुन ३ वर्षनै बञ्चित भए । गाइजात्रा नृत्यकोलागि धेरैजना सहभागी भएर म बञ्चित भएको भए दुःख लाग्ने थिएन तर तालिममा सहभागि जोकर सहित ५ जना र नृत्यमा चाहिने पनि जोकर सहित ५ जना तर गाइजात्राको दिन म कार्यक्रमबाट बाहिरिन्थे र अर्को टोलवाट एक जना प्रबेश गरिन्थ्यो । ३ वर्षसम्म प्रयास गर्दा पनि मलाइ सहभागि गराएन । मलाइ सहभागि गरायो त मात्र चन्दा संकलन गर्न र तालिममा भागलिन ।

लगातार ५ बर्ष चन्दा संकलन र ३ वर्ष गाइजात्राकालागि तालिममा मात्र सहभागि गराएर गाइजात्राको दिनमा कार्यक्रममा सहभागि नगराएपछि २०४४ सालपछी यो कार्यक्रमकालागि कुनैपनि कार्यमा सहभागि  नहुने निर्णय गरे । त्यसपछी म २०४५ सालको गाइजात्राकोलागि तालिममा पनि सहभागि भइन । त्यो वर्ष जर्नैपुर्णिमाको एकदिन अगाडीसम्म पनि चन्दा संकलन गरेन कसैलेपनि र गाइजात्राको तयारी पनि गरेन । सम्भवत उक्त वर्ष गाइजात्रा गर्ने कुनै चासो नै कसैले दिएन । गाइजात्राको दिन आफ्ना परिवारका मृत सदस्यको नाममा गाइजात्रा गर्ने परम्परा भएकोले उक्त वर्ष लोकमान पालिखेको स्वर्गारोहण भएको थियो । उहाको छोरा पुर्णमान पालिखेले गाइजात्राको लागि कोशिस गर्दा पनि सफल नभएपछि २०४५ को गाइजात्रामा मलाई सहभागि हुन दिने शर्त सहित चन्दा उठाउनु र नपुग रकम दिने सहमति भए अनुसार अन्तिम पटको लागि चन्दा उठाएर गाइजात्रा कार्यक्रमको लागि तयारी गरियो । २ दिनमात्रको समयमा तयारी गरेको हुदा उक्त वर्ष गाइजात्राको सामाग्रीलाई उचित व्यवस्थापन र सरसफाइ पनि गर्न पाएन । त्यो बर्ष साँचै सहमति अनुसार गाइजात्रा नृत्यमा भागलिन पाए र त्यहि वर्ष ३ पटक सम्म नृत्य गरियो सधै गणेश टोलवाट रामकृष्ण टोल, भिमसेन टोलहुँदै तेर्सापट्टी सरस्वति मन्दिर पुगेर फर्कने हाम्रो टोलको नृत्य त्यही बर्ष विन्ध्यवासिनी मन्दिर सम्म पुग्यो । कृष्णजन्माअष्टमी सम्ममा ३ पटक नृत्य निकाल्यो । यो नै मेरो पहिलो र अन्तिम गाइजात्रा सहभागि भयो । यसपछी कहिल्यै गणेश टोलको कार्यक्रममा सहभागि भइन र हुनपनि मनलागेन ।

अन्तमा लाग्यो मलाई त्यस टोलवासीले यस्ता कार्यमा कामदारको रुपमा काममा लगाउने तर सहभागिता नजनाउनुको केही त कारण अबस्य छ । सायद म त्यस समुदाय समाज सुहाउदो नएर वा मेरो पारिवारीक कारण पनि पछाडी पार्न खोजिएको हुन सक्छ । जे होस मैले ३ बर्ष प्रयासमा पनि गाइजात्रा कार्यक्रममा भागलिन नदिदा कहिले सहभागि नहुने निर्णय गरेको थिए अन्त्यमा चौथो वर्षमा एकै पटक ३ पटक गाइजात्रा नृत्यमा सहभागि हुन पाए । यासका लागि धन्यवाद छ पुर्णमान पालिखेज्यु प्रति । 
पहिलो तथा अन्तिम पटक गाइजात्रा नृत्य गर्दै विशाल जीत पालिखे